
भेरी नगरपालिका जाजरकोटका निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीसहित १४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जुवा खेलिरहेको अवस्थामा आइतबार बिहान करिब ३ बजेतिर उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
प्रहरीका अनुसार उनीहरू जाजरकोट सदरमुकाम नजिकै गैरीखाली भन्ने ठाउँमा जुवा खेलिरहेका थिए ।
‘जुवा खेलिरहेको अवस्थामा १४ जनालाई नियन्त्रणमा लिएका छौं,’ एक प्रहरीले भने, ‘उनीहरूको साथबाट २ लाख नगद पनि बरामद भएको छ ।’
प्रहरीले जुवा खालबाट नियन्त्रणमा लिइएकाहरूको नाम सार्वजनिक भने गरेको छैन ।
उनीहरूले जुवा खेल्दा मोबाइल बैंकिङको प्रयोग गरेकोले अन्य रकम पनि हारजित भएको हुनसक्ने प्रहरी अनुमान छ ।





