खोप मात्रा पूरा नगरेका संक्रमित गम्भीर, सवा लाख अझै पहिलो डोजबाट वञ्चित

ठाकुरसिंह थारु,
नेपालगन्ज । बाँकेस्थित भेरी अस्पतालमा पछिल्लो समय उपचारका लागि आएकामध्ये कोरोना विरुद्धको खोपको दुवै मात्रा नलगाएका संक्रमितको स्वास्थ्य गम्भीर हुने गरेको पाइएको छ । खोपको एक मात्रा मात्र लगाएका कतिपय संक्रमितको मृत्यु भएको अस्पतालले जनाएको छ ।

खोपका दुवै मात्रा पूरा गरेका व्यक्तिमा संक्रमण देखिए पनि स्वास्थ्य अवस्था भने सामान्य हुने गरेको छ । भेरी अस्पतालका मेडिकल विभाग प्रमुख तथा फिजिसियन डा.राजन पाण्डेले पूरा खोप लिएका व्यक्तिलाई कोरोनाको संक्रमण देखिए पनि अक्सिजन दिएर उपचार गर्नुपर्ने अवस्था नरहेको जनाउनुभयो ।

उहाँका अनुसार दुई पटक लगाउनुपर्नेमा खोपको मात्रा एक डोजमात्रै लिएका संक्रमितको स्वास्थ्य अवस्था जटिल देखिने गरेको छ ।

‘खोपको पूरै मात्रा लिएका व्यक्तिहरूमा पनि संक्रमण देखिएको छ । तर, उनीहरूलाई अक्सिजन दिनु परेको छैन,’ उहाँले भन्नुभयो, ‘तर, एक डोजमात्रै लिएका व्यक्तिहरूको कोरोना संक्रमणबाट मृत्युसमेत हुने गरेको छ ।’

भेरी अस्पतालमा मंसिर १ देखि पुस २० गतेसम्म ४९ जना संक्रमित उपचारका लागि भर्ना भएका छन् । तीमध्ये एक डोजमात्रै खोप लगाएका पाँच जनाको मृत्यु भएको अस्पतालको तथ्यांक छ ।

भेरीमा प्रत्येक दिन एक जना संक्रमित बिरामी भर्ना हुने गरेका छन् । पूरा खोप लिएका संक्रमितहरू उपचारपछि निको भएर घर फर्किने गरेका छन् । फिजिसियन डा.पाण्डेका अनुसार संक्रमितमा निमोनियाको समस्या देखिने गरेको हो ।

‘एक डोज खोप लिएका संक्रमित बिरामीलाई अक्सिजन दिएर उपचार गर्नुपर्ने अवस्था छ,’ उहाँले भन्नुभयो । कोरोनाको पहिलो लहरदेखि नै बाँके हटस्पट बन्दै आएको छ ।

भारतसँग सीमा जोडिएका कारण कोरोनाको उच्च जोखिममा भएकाले सचेत हुनुपर्ने चिकित्सकको सुझाव छ । जिल्ला स्वास्थ्य कार्यालय प्रमुख धीरजंग शाहले जिल्लामा कोरोनाको खोप लिने उमेर समूहका ४ लाख ७० हजार रहेको बताउनुभयो ।

त्यसमध्ये ७० प्रतिशतले पहिलो डोज खोप पाएका छन् । ५० प्रतिशतले मात्रै दोस्रो डोजको खोप पाएका छन् । १ लाख १७ हजार अझै पनि पहिलो डोजको खोपबाट वञ्चित छन् ।

‘२८ देखि ३० प्रतिशत जनसंख्या खोप पाउनैबाट वञ्चित छन्,’ उहाँले भन्नुभयो, ‘११ वर्षमाथिका उमेर समूहलाई खोप दिने क्रम जारी छ ।’ कोरोनाबाट सर्वसाधारणलाई जोगाउन सरकारले खोप दिनमा ढिलाइ गर्न नहुने चिकित्सकहरूको सुझाव छ । चिसो सुरु भइसकेका कारण कोरोनाको संक्रमण फैलिन सक्ने खतरा बढेको छ ।

‘यथाशक्य छिटो कोरोनाविरुद्धको पूरा खोप दिनु आवश्यक छ,’ भेरी अस्पताल नेपालगन्जका फिजिसियन डा.पाण्डेले भन्नुभयो ।, ‘होइन भने सर्वसाधारणको ज्यान जाने खतरा बढ्न सक्छ ।’

जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका अनुसार कोरोना संक्रमित जिल्लाभित्रका ३ सय ४५ जनाको मृत्यु भइसकेको छ भने बाहिरी जिल्लाबाट उपचारका लागि आएका ३ सय ४४ जनाले ज्यान गुमाएका छन् । स्रोत : कान्तिपुर

Previous articleनिजामति कर्मचारी संगठन कोहलपुरको अध्यक्षमा रावत
Next articleनिजामती कर्मचारी संगठन नेपालगञ्ज अध्यक्षमा मनराज थापा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here