
नेपालगन्ज । महिला उद्यमीलाई प्रोत्साहन गर्न नेपालगन्जमा आज प्रदेशस्तरीय प्रदर्शनी हुँदै छ । पुस १२ गतेदेखि २६ गतेसम्म नेपालगन्जमा लुम्बिनी प्रदेशस्तरीय प्रदर्शनी हुन लागेको हो ।
महिला उद्यमी संघ नेपाल(विन) बाँकेको आयोजनामा महिलाहरुद्वारा उत्पादित सामाग्रीहरुको प्रदर्शनी गरिने भएको हो । महिला उद्यमी संघ लुम्बिनी प्रदेशका संयोजक सरस्वती शर्माले नेपालगन्जमा रहेको सोनाकरी रेष्टेरेण्टमा प्रदर्शनी संचालन हुने बताउनुभयो ।
शर्माले प्रदर्शनी कार्यक्रममा लुम्बिनी प्रदेशका १२ जिल्लाका महिलाहरुको सहभागिता रहने बताउनुभयो । उहाँले प्रदर्शनीमा महिलाहरुले उत्पादन गरेका सामाग्रीका लागि ५० स्टल राखिने बताउनुभयो ।
‘महिलाहरुले उत्पादन गरेका सामाग्रीहरुको बजारीकरण र उनीहरुले उत्पादन गरेको सामानहरु बिक्री गराउने उद्देश्यका साथ प्रदर्शनीको अयोजना गरिएको हो,’ शर्माले बताउनुभयो ।
महिला उद्यमी संघ, बाँकेकी अध्यक्ष निरुपमा रस्तोगीले प्रदर्शनीमा उपस्थिति जनाएका सबै महिला उद्यमीका लागि निःशुल्क स्टल उपलब्ध गराइने बताउनुभयो । उहाँले भन्नुभयो, , ‘हामीले प्रदर्शनीमा आउने महिलाको स्टल खर्च, खानबस्न र आउने जाने भाडाको व्यवस्था गरेका छौं ।’
अध्यक्ष रस्तोगीले प्रदर्शनीमा मुख्य उद्देश्य बजारीकरण रहेको भएता पनि व्यापारलाई पनि जोड दिने बताउनुभयो । उहाँले प्रदर्शनीमा ल्याइएका समानहरु कोसेली घरले नै राखेर बिक्री गरिने बताउनुभयो ।
प्रदर्शनी कार्यक्रमका चार लाख बजेटमा संचालन हुने महिला उद्यमी संघ नेपाल, बाँकेकी महासचिव सुनिता पाण्डेले बताउनुभयो । पाण्डेका अनुसार प्रदर्शनीमा विभिन्न सफल उद्यामीलाई पनि सम्मान गरिने छ ।
कार्यक्रमको उद्घाटन लुम्बिनी प्रदेशका वन, वातावरण तथा भू संरक्षण मन्त्री सुरेन्द्र हमालले गर्ने आयोजकले जनाएको छ ।





