‘एनपीयु पत्रकार कल्याण कोष’ का लागि सहयोग संकलन उप-समिति गठन

नेपालगञ्ज । नेपाल प्रेस युनियन बाँकेले स्थापना गरेको ‘एनपीयु पत्रकार कल्याण कोष’ का लागि सहयोग संकलन अभियान सञ्चालन गर्न एक उप–समिति गठन गरेको छ ।

युनियन बाँकेको बुधबार बसेको कार्यसमिति पदाधिकारीको बैठकले कोषका लागि आवश्यक सहयोग संकलन अभियान सञ्चालन गर्न कमल खत्रीको संयोजकत्वमा पाँच सदस्सीय उपसमिति गठन गरेको हो ।

उक्त समितिको सदस्यहरुमा समिरमान श्रेष्ठ, दीपककुमार राई, लक्ष्मी गौडेल, नरेन्द्र सिंह लगायत रहनु भएको छ । यस्तै उपसमितिमा आवश्यकता अनुसार सदस्य थप गरिने पनि बैठकले निर्णय गरेको छ ।

युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीको अध्यक्षतामा बसेको उक्त बैठकले कल्याण कोषमा सुरुमा युनियनका जिल्ला कार्यसमिति, पदाधिकारीले स्वःस्र्फुत रुपमा रकम जम्मा गरेर अन्य ब्यक्ति, संस्था तथा निकायसँग सहयोगका लागि आग्रह गर्ने पनि निर्णय गरेको छ ।

कुनैपनि घटना, दुर्घटनामा घाइते भएर वा जटिल खालका रोगको औषधी उपचारमा पत्रकारलाई आर्थिक सहायता प्रदान गर्ने उद्देश्यले युनियन बाँकेले उक्त कोष स्थापना गरेको थियो ।

‘दिनरात रिपोर्टिङमा खटिने कुनै पत्रकार जब घटना वा दुर्घटनामा परेर घाइते हुन्छ, अथवा कुनै जटिल प्रकारको रोगबाट ग्रसित हुन्छ, उसले सहज रुपमा उपचार गराउन सक्दैन,’ अध्यक्ष ओलीले भन्नुभयो ‘यस्ता धेरै पत्रकारले आर्थिक कठिनाई बेहार्नु परिरहेको हाम्रै आँखाले देखिरहेका छौं, त्यसकारण त्यस्तो समस्यामा परेका पत्रकारलाई आर्थिक सहयोग गरेर पीडामा मल्हम लगाउने प्रयास स्वरुप यो कल्याण कोष स्थापना गरिएको हो ।’

युनियनले उक्त कोषबाट जिल्लाका सबै पत्रकारलाई समेट्ने र कोष सञ्चालनका लागि निर्देशिका समेत तयार गर्ने उहाँले जानकारी दिनुभयो ।

‘कोषमा जम्मा हुने रकमबाट प्राप्त हुने ब्याजलाई हामी औषधी उपचार गर्न समस्यामा परेका पत्रकारलाई हस्तान्तरण गर्नेछौं, सहयोग रकम कसरी वितरण गर्ने भन्नेबारे हामी छिट्टै एउटा निर्देशिका बनाउनेछौं,’ ओलीले भन्नुभयो ।

कल्याण कोषमा जम्मा हुने रकमलाई पारदर्शिता देखाउने र सबै सहयोगको अभिलेख राखेर सार्वजनिक गर्ने युनियनले जनाएको छ ।

Previous articleबिहीबारदेखि नेपालगञ्जमा महिलाद्वारा उत्पादिन सामाग्रीको प्रदर्शनी हुँदै
Next articleगौडेल समूह प्रचार प्रसारमा व्यस्त, टोल टोलमा मतदाता भेट्दै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here