
नेपालगञ्ज । बाँकेको खजुरा गाउँपालिकाले कक्षा १ देखि ८ कक्षासम्मको स्थानीय पाठ्यक्रमको प्रारम्भिक खाका तयार गरेको छ ।
पालिकाले नेपालगञ्जमा तीन दिने पाठ्यक्रम निर्माण कार्यशाला आयोजना गरेर पाठ्यक्रमको प्रारम्भिक खाका तयार गरेको हो । कार्यशाला बिहीबार सकिएको छ ।
प्लान इन्टरनेशनल नेपाल र सामाजिक सचेतन सरोकार मंच (स्याक नेपाल)द्धारा संचालित सिकाई परियोजनाको आर्थिक सहयोगमा नेपालगञ्जमा उक्त कार्यशाला आयोजना गरिएको थियो ।
कार्यशालामा खजुरा गाउँपालिकाका सामुदायिक तथा निजी बिद्यालयहरुका शिक्षकहरुको सहभागिता रहेको खजुरा गाउँपालिका शिक्षा शाखा प्रमुख खगेन्द्र मल्लले जानकारी दिनुभयो ।
२०४९ सालदेखि नै स्थानीय पाठ्यक्रम लागु भएपनि व्यवहारिक रुपमा स्थानीय पाठ्यक्रम निर्माण गरी लागु हुन सकेको छैन ।
हालसम्म बिद्यालयहरुले अंग्रेजी, कम्प्यूटर जस्ता लागु गरिरहेको बिषयहरुलाई बिस्थापित गर्दै स्थानीय परिवेश अनुकुलको पाठ्यक्रम निर्माण कार्यान्वयनमा ल्याउन प्रयत्न शुरु गरिएको शाखा प्रमुख मल्लले बताउनुभयो ।
पूर्व उपसचिव जीत बहादुर शाहले सहजीकरण गर्नुभएको कार्यशालाको समापनमा स्याक नेपालका अध्यक्ष शिवलाल पाण्डेले सिकाई परियोजनामार्फत बिद्यालयहरुमा दिगो सिकाईको वातावरण निर्माणमा जोड दिइएको बताउनुभयो ।
उहाँले खजुराका बिद्यालयहरुमा शैक्षिक सुधारका लागि संस्थाको सहयोग निरन्तर रहने बताउनुभयो । कार्यक्रममा शिक्षा शाखाका प्राबिधिक सहायक निर्मल रेग्मी, सिकाई परियोजना सुपरभाईजर रज्जब अलि बागवानको समेत उपस्थिति रहेको थियो ।





