
दिपकजंग शाही
सुर्खेत । कर्णाली प्रदेशका हरेक जिल्लामा कोभिड विशेष एम्बुलेन्स राखिने भएको छ ।
बिहिबार बसेको कर्णाली प्रदेश विपद् व्यवस्थापन समितिको वैठकपछि मुख्यमन्त्री जीवनबहादुर शाहीले तेस्रो चरणको कोभिड महामारीलाई मध्यनजर गरी प्रत्येक जिल्लामा विशेष एम्बुलेन्स तयारी अवस्थामा राख्न निर्देशन दिनुभएको छ ।
विपद् व्यवस्थापन समितिको वैठकले तत्कालै एम्बुलेन्सहरु खरिद् प्रक्रिया अगाडि बढाउने निर्णय समेत गरेको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
तेस्रो चरणको कोभिड प्रतिर्यका लागि कर्णाली प्रदेश सरकारले आफ्नो तर्फबाट गर्न सकिने कामहरु तत्काल सुरु गर्ने निर्णय विपद् व्यवस्थापन वैठकले गरेको छ ।
सुर्खेतको छिन्चुमा होल्डिङ सेन्टर स्थापना गर्ने, भारतसहित तेस्रो मुलुकबाट कर्णाली प्रदेश भित्रिने मानिसहरुको अनिवार्य एन्टीजेन परीक्षण गर्ने निर्णय वैठकले गरेको छ ।
बाह्य मुलुकबाट आउने कर्णालीका नागरिकमध्ये सडक पूर्वाधार पुगेका जिल्लाका भए सम्बन्धित जिल्लामा पुर्याउने र सडक नपुगेको जिल्लाका मानिसलाई सुर्खेतको होल्डिङ सेन्टरमा राख्ने व्यवस्था गरिनेछ ।
मुख्यमन्त्री शाहीले सबै तहका स्वास्थ्य संस्थारुलाई कोभिड प्रतिकार्यका लागि उच्च सतर्कताका साथ क्रियाशिल रहन र प्रचार प्रसारलाई तिव्रता दिन निर्देशन दिनुभएको छ ।
कोभिडको तेस्रो चरणलाई मध्यनजर गरी भौगोलिक विकटता, जनसंख्या लगायतका सूचकलाई आधार मानेर स्थानीय तहहरुमा समावेशी बजेट वितरण गर्ने निर्णय पनि कर्णाली प्रदेश सरकारले गरेको छ ।
जोखिम भत्ताको रुपमा कोभिड नियन्त्रण कार्यमा खटिनेहरुलाई मात्र दिईने निर्णय गरिएको छ ।





