
नेपालगञ्ज । बर्दियाको राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाका बिद्यालयहरुमा भएका असल अभ्यासबारे छलफल गरिएको छ । शुक्रबार बिद्यालयका प्रतिनिधिहरुबीच राजापुरमा भएका असल अभ्यासबारे छलफल गरिएको हो ।
स्थानीय तहको समन्वय सहकार्यमा प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा सामाजिक सचेतन सरोकार मंच (स्याक नेपाल) बाँकेले संचालन गरेको सिकाई परियोजनामार्फत बिद्यालयहरुमा थुप्रै असल अभ्यासहरु कार्यन्वयनमा आएका छन् ।
परियोजना संचालन भएपछि बिद्यालयहरुमा थुप्रै नयाँ अभ्यासहरु संचालनमा आएका छन् । नमूना कक्षा कोठा निर्माण, बच्चाको सिकाई उपलब्धीमा बृद्धि, बिद्यालय छाडने दरमा कमि, भर्ना दर बृद्धि, फोकल शिक्षक व्यवस्थापन, लैंगिकमैत्री शिक्षण सिकाई क्रियाकलापहरु, शिक्षणमैत्री सामाग्री निर्माण जस्ता कुराहरु भएको पाइएको छ ।
बिद्यालयका प्रधानाध्यापकहरु सहभागि कार्यक्रममा राम्रा कुराको सिकाई आदान प्रदान गर्नुका साथै आगामी दिनमा निरन्तरताका लागि कार्ययोजना समेत बनाएका छन् ।
यस्तै बिद्यालयहरुमा भएका असल अभ्यासहरुको दिगोपनाका लागि पालिकाले समेत कार्ययोजना बनाएको राजापुर नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख दल बहादुर चौधरीले बताउनुभएको थियो ।
उहाँले अहिले बिद्यालयमा भइरहेका असल अभ्यासहरुलाई निरन्तरता दिन र पालिकास्तरमा सबै बिद्यालयमा कार्यान्वयनमा ल्याउन कार्ययोजना बनाई अगाडी बढेको बताउनुभयो ।
छलफलमा १० वटा बिद्यालयका १५ जना प्रधानाध्यापकहरुको सहभागिता रहेको परियोजना सुपरभाईजर दशलाल चौधरीले जानकारी दिनुभयो । बिगत २ वर्षदेखि संचालित सिकाई परियोजनाले बिद्यायहरुमा शिक्षकहरुको क्षमता बिकास, नमूना कक्षा व्यवस्थापन एव निर्माण, बालबालिकाहरुको सिकाई बृद्धि तथा भौतिक संरचना निर्माण लगायतका कार्यक्रमहरु संचालन गर्दै आएको छ ।





