
नेपालगञ्ज । नेपालगञ्जमा संचालन भएको पावर परियोजनाबारे परिच्यात्मक कार्यक्रम गरिएको छ । शुक्रबार नेपालगञ्जका सरोकारवालाहरुको उपस्थितिबारे परियोजनाका बारेमा जानकारी दिइएको छ ।
सेफ द चिल्ड्रेनको आर्थिक सहयोगमा उमहानगरपालिकाको समन्वयमा सामाजिक बिकास मंच (एस डिएफ) बाँकेले संचालन गर्न लागेको परियोजनाको लक्षित वर्ग, समूह, परियोजना अवधि, बिषयगत क्षेत्र लगायतका बारेमा सरोकारवालालाई जानकारी प्रदान गरिएको हो ।
नेपालगञ्जमा असमान्ता तथा भेदभावमा परेका किशोर किशोरी तथा युवाहरुको सर्वाङ्गिण बिकास गर्ने परियोजनाको लक्ष्य रहेको छ । परियोजनामार्फत बाल गरिबीतर्फ (जिवीकोपार्जन तथा शिक्षा) ८९ प्रतिशत, यौन तथा प्रजनन स्वास्थ्यतर्फ ४ प्रतिशित र सरसफाईतर्फ ७ प्रतिशत कार्यक्रम रहेको जनाइएको छ ।
यी कार्यक्रमहरुमार्फत अति गरिव तथा बिपन्न परिवारका किशोर किशोरी (महिला ५० प्रतिशत अनिवार्य रहने गरी) १३ देखि १५ वर्ष र १६ देखि २४ वर्ष उमेर समूहलाई सहयोग पुर्याइनेछ । जुन २०१ देखि संचालन भएको परियोजना जुन २०२६ सम्म संचालन हुनेछ ।
परियोजना अन्तर्गत नेपालगञ्ज उपमहानगरपालिकाको चार वटा बिद्यालय कार्य क्षेत्रका रुपमा रहेका छन् । यही कार्यक्षेत्र भित्रका बिद्यालयमा अध्ययनरत ४९ जना अति बिपन्न बिद्यार्थीलाई नगद १२ हजारका दरले सहयोग प्रदान गरिएको छ । नेपालगञ्जको मंगल प्रसाद माबि, सरस्वती माबि, धम्बोझी माबि र महाराजा माबि रहेको छ ।
ती बिद्यालयको सेवा क्षेत्रहरु कुम्हारन टोल, घसियारन टोल, कसगर टोल, शान्ति नगर, महेन्द्र पार्क, गडरियनपुर्वा, गोसाई गाउँ बाल्मिकी टोल, भवानीबाग, चिडिमार टोल, शिव पार्वती टोल, जुम्ली टोल, पुरैना, नयाँ बस्ती, बिर्ता र किंघरियनपुर्वा गाउँलाई बिशेषतह समेटिएको छ । यसका साथै अन्य कार्यक्रमहरु पनि संचालन भइरहेकोको परियोजना संयोजक राम श्रेष्ठले जानकारी दिनुभयो ।
यस्तै मंचद्धारा नै नेपालगञ्जमा संचालित जोखिम संचार तथा समुदायिक संलग्नता परियोजनाको उपलब्धबारे छलफल गरिएको छ । चार महिना परियोजना अवधिमा गरिएका कार्यक्रमबाट आएका उपलब्धीका बारेमा परियोजना संयोजक शिवानी भट्टराईले जानकारी दिनुभयो ।
यस परियोजनामार्फत नेपालगञ्जमा कोभिड १९ बारे सचेतना, खोप अभियानबारे जानकारी टोल तथा समुदायस्तरमा प्रदान गरिएको छ । छोटो समयको परियोजना अवधिभित्र समुदायस्तरमा कोरोना बिरुद्धको खोप अभियानबारे जानकारी पुगेको र समुदायस्तरका व्यक्तिहरुमा सचेतना बृद्धि भएको देखिएको छ ।
कार्यक्रममा बोल्दै नेपालगञ्जका मेयर डा.धवल शम्शेर राणाले दुई वटै परियोजनाले राम्रो काम गरिरहेको बताउनुभयो । उहाँले मुख्यतया जोखिममा रहेका किशोर किशोरी तथा युवालाई सहयोग र बढ्दो कोरोना नियन्त्रणका लागि सचेतना अभियान कार्यक्रमले पक्कै पनि उपमहानगरपालिकालाई ठुलो सहयोग भएको बताउनुभयो । साथै उहाँले परियोजनासंगै उपमहानगरपालिकाबाट पनि हुन सक्ने सहयोग जस्ता कुरामा आफु गर्न तयार रहेको प्रतिबद्धता समेत जनाउनुभयो ।
मंचका अध्यक्ष चम्प सिंह थापा मगरको अध्यक्षतामा भएको कार्यक्रममा नेपालगञ्ज वडा नं ८ का वडा अध्यक्ष सुरेन्द्र गुप्ता, वडा नं २१ का वडा अध्यक्ष रंजित खाँ, वडा नं १२ का वडा सदस्य एवं नगरस्तरीय शिक्षा समितिका सदस्य तरुण बज्रचार्य, उपमहानगरपालिका सामाजिक बिकास शाखा प्रमुख कृष्ण प्रसाद जोशी, जिल्ला युवा क्लब संजालका अध्यक्ष आशिष बर्मा, मंचका बरिष्ठ सल्लाहकार घनश्याम उपाध्याय लगायतको उपस्थिति रहेको थियो ।
सो क्रममा मंचका अनुगमन तथा मुल्याँकन अधिकृत तेज बहादुर नेपालीले जवाफदेही सेवा, गुनासो सुनुवाई तथा गुणस्तरीय कार्यक्रम कार्यान्वयनका बारेमा जानकारी गराउनुभएको थियो ।





