सुशान्त सिंह राजपूत आत्महत्या प्रकरणः सलमान खानसँग सोधपुछ नहुने, १३ जनाको बयान सकियो

एजेन्सी । अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्यापछि बलिउडमा हलचल आएको छ । उनलाई चलचित्रबाट निकालिएको हुनसक्ने भन्दै समाजिक सञ्जालमा बलिउडका चर्चित प्रडक्सन हाउसलाई सुशान्तको आत्महत्याका लागि जिम्मेवार ठहर्‍याइएको थियो ।

विवादको रुप लिएको यो विषयले सलमान खान, करण जोहर लगायतका व्यक्तिहरु सुशान्तको आत्महत्याका लागि जिम्मेवार रहेको आरोप समेत लाग्यो । साथै यस विषयमा एशराज फिल्मस्‌का मालिक आदित्य चोपडा पनि मुछिए ।

प्रहरीले सुशान्तको मृत्युपछि विभिन्न व्यक्तिहरुसँग सोधपुछ गरिरहेको छ । यो घटनासँग सम्बन्धित डिसिपी अभिषेक त्रिमुखले सलमान खानसँग सोधपुछ नगर्ने जानकारी दिएका छन् ।

साथै अहिलेसम्मको सोधपुछबाट आदित्य चोपडासँग जोडिएको प्रत्यक्ष वा अप्रत्यक्ष आधारहरु प्रहरीले प्राप्त नभएको जनाएको छ । यो विषयमा लगातार खोजीमा रहेको र कुनै आधार भेटिएमा सोधखोज गर्ने प्रहरीले बताएको छ ।

प्रहरीले समाजिक सञ्जालमा आएको जानकारीको आधारमा कसैलाई पनि सोधपुछको लागि बोलाउन नमिल्ने बताएका छन् ।

१४ जुनमा सुशान्तको मृत्यु भएपछि प्रहरीले धेरै खोजी गरेको छ । यस्तै प्रहरीले सुशान्तको क्रियटिभ म्यानेजर सिद्धार्थ पीठानी, घरमा कर्मचारी दिपेश सावंत, दुई भान्से, ढोकाको साँचो बनाउने व्यक्ति, प्रेमिका रिया चक्रवर्ती, रियाका भाई सोविज, सुशान्तका बाबु केके सिंह, दुई बहिनी, केही चलचित्र निर्माता, चिकित्सकको बयान लिइसकेको छ ।

यस्तै बान्द्रा प्रहरीले यशराज फिल्मसँग सुशान्तको सम्झौताको पनि जाँच गरेको छ । अहिलेसम्म सुशान्तको मृत्युलाई आत्महत्या नै भनिएको छ । देशसञ्चार

Previous articleनेपालगञ्ज–६ का एक युवामा कोरोना संक्रमण पुष्टि
Next articleप्रदेश ५ मा गाडी र लाइसेन्स नवीकरणमा जरिवाना नलाग्‍ने, प्रदेशसभा पदाधिकारीको सुविधामा हेरफेर गर्ने निर्णय

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here