
कास्की । यतिबेला सामाजिक सञ्जालमा कुकुरलाई फालेर मारेको एउटा भिडियो भाइरल भइरहेको छ । सो घटना पोखरामा भएको हो । भिडियो भाइरल हुनासाथ अधिकारकर्मीहरुले यसबारे कास्की प्रहरीमा जाहेरी दिएका छन् ।
अनुसन्धान हुँदै जाँदा पोखराकै १९ वर्षीय सुवास नेपालीले कुकुरलाई फालेर मारेको खुलेको छ ।
पशुजन्य हिंसा गर्नेलाई मुलुकी ऐन २०७४ अनुसार तीन महिनासम्मको कैद र पाँच हजारसम्मको जरिवानाको व्यवस्था छ ।
अहिले उक्त घटनाका दोषी भनिएका ति युवा प्रहरीको अनुसन्धानमा छन् । सो कार्यमा अन्य व्यक्तिहरुको पनि संलग्नता देखिएको छ ।
नेपालीले आफ्नै ठूलीआमाको घरमा पालेको कुकुर बिरामी भएको हुँदा फाल्न गएको बयान दिएका छन् ।
सो घटनामा उनको ठूलीआमा र भिडियो बनाउने व्यक्ति समेत दोषी हुन सक्ने देखिएको छ । सानैदेखि पढिने पाठ्यक्रममा जनावरलाई माया गर्नुपर्छ भनेर राखेको भए यस्ता अपराधिक र क्रुरताका घटना नहुने अधिकारकर्मी तथा पशु कल्याण संघ नेपालकी अध्यक्ष स्नेहा श्रेष्ठको भनाई छ ।
पशुकल्याण ऐन अझै पनि नेपालमा बनेको छैन र जबसम्म जनावर सम्बन्धी ऐन कानून बन्दैनन् तबसम्म यस्ता घटनामा कमी नहुने उहाँको बुझाई छ।





